काठमाडौंको गाइबाच्छा चोकमा मानिसको हत्या, डरलाग्दो अवस्थामा भेटियो शब

काठमाडौं, मंसिर १७ । बाफलको गाइबाच्छा चोकमा सात दिनअघि एक जनाको शव भेटियो । बाफल क्षेत्रमा मागी हिँड्ने सुशील शर्मा सुत्ने ठाउँमा जलेको अवस्थामा शव भेटिएपछि प्रहरीले उनको मृत्यु भएको आशंका गरेको थियो ।

तर अर्को दिन शर्मा जीवितै भेटिएपछि प्रहरी आश्चर्यमा पर्‍यो । उनको कपाल र जुत्ताको पनि केही भाग डढेको थियो । ‘उही सुत्ने स्थानमा अर्को व्यक्तिको शव भेटिएपछि स्वभाविक रुपमा शंका लाग्ने भइहाल्यो’ महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङ भन्छन्, ‘नभन्दै उनैले अर्को व्यक्तिको हत्या गरेको भेटिएको छ ।’

प्रहरीका अनुसार शर्मामाथि सोधपुछ गर्ने क्रममा त्यहाँ बरामद भएको शव काभ्रे घर भएका ७६ वर्षीय टेपबहादुर भनिने हर्कबहादुर बानियाँको भएको खुलेको छ । र, उनको हत्यामा शर्माको संलग्नता पुष्टि भएको प्रहरी दाबी छ ।

पैसा चोर्ने योजना, थाहा पाएपछि हत्या – ७५ वर्षका हर्कबहादुर बानियाँ बाफल क्षेत्रमा मागेर खान्थे । कार्तिक १ मा विदेशबाट फर्केका भतिजाले हर्कबहादुरलाई बाफलमा भेटेका थिए । हर्कबहादुरका भतिज विदेशबाट फर्केको थाहा पाएपछि आरोपीलाई लाग्यो– ‘काकालाई उनले टन्नै पैसा दिएर गएका छन् ।’ त्यसपछि सुशीलले हत्या गर्ने योजना बनाए ।

सुशीललाई बाफल क्षेत्रमा ‘जुम्रे’ भनेर बोलाउँथे । हर्कबहादुरलाई गाईबाख्रा चोकस्थित आफु सुत्ने गरेको खण्डघर घरमा लिएर गए । मदिरा खुवाए र सुतेको बेलामा पैसा लुट्ने योजना बनाए । मध्यरातमा र्हकबहादुरको गोजीमा हात लम्काए । खल्तीबाट ५० रुपैयाँको नोट निकालेपछि बानियाँले थाहा पाए । त्यसपछि उनिहरुको बीचमा झगडा भयो । बानियाँले गाली गर्न थालेपछि धकेलेर उनको टाउको भित्तामा ठोक्काएको सुशीलले प्रहरीसँग बताएका छन् ।

‘भित्तामा टाउको ठोक्काएर हत्या गरेको अनुसन्धानबाट थाहा भएको छ’ महाशाखाका एसएसपी खापुङले भने–‘अनि, तन्ना र अरु कपडासहित जलाएको आरोपीले स्वीकारेका छन् ।’ सुशीलको कपाल र जुत्तामा आगोले सामान्य डढेको देखेर अनुसन्धान अधिकृतहरुले उनलाई शंकाको घेरामा राखेका थिए । शुरुमा उनले ताप्दा जलेको बयान दिए । महानगरीय प्रहरी वृत्तको थुनामा राखेर थप अनुसन्धान गर्दै जाँदा सुशीलले नै हत्या स्वीकार गरेका छन् ।

‘योजना अनुसार आफू सुत्ने ठाउँ रक्सी खुवाएर लठ्याएर गोजीबाट पैसा निकाल्न खोजेका रहेछन्’ खापुङले भने, ‘बानियाँ ब्यूँझिएपछि विवाद भयो र हिर्काएर हत्या गरेको देखिएको छ ।’ घटनाबारे थाहा नहोस् भनेर त्यहीँ रहेको कपडाहरुमा शवलाई जलाएको देखिएको खापुङ बताउँछन् । थप अनुसन्धान जारी छ ।

प्रतिक्रिया दिनुहोस