विद्यालय केही ढिला पुगेकी थिइन्, गाली गर्दै गेटबाटै फर्काइएपछि घर पुग्नेबित्तिकै विष खाइन्!

ओखलढुंगामा विद्यालय केही ढिला पुगेको भनेर विद्यलाय प्रशासनद्वारा गाली गर्दै गेटबाटै फर्काइएकी एक किशोरीले आत्महत्या गरेकी छन्।घटना विवरणअनुसार स्थानीय बालाज्योति माविमा कक्षा ८ मा अध्ययनरत ओखलढुंगाको चम्पादेवी गाउँपालिका–३ चित्रेकी विमला बोगटी गत सोमबार केही ढिलागरी विद्यालय पुगिन्।

त्यस दिन १६ वर्षीया उनीसहित १२ जना विद्यार्थी विद्यालय ढिला पुगेका थिए। यस क्रममा गेटमा बसेका विद्यालय कर्मचारीले किन ढिला आएको भन्दै रोके। अरू सबै एकएकवटा बहाना बनाएर विद्यालय छिर्न सफल भए, तर विमला अक्क न बक्क भइन्। त्यस क्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु बुढाथोकीले पनि उनलाई थर्काए र गेटबाटै घर फर्काइदिए।

यसपछि दुःखी बनेर फर्केकी विमलाले घर पुग्नासाथ विष खाएकी हुन्। परिवारले उनलाई हतारहतार ओखलढुंगाकै सामुदायिक मिसन अस्पताल त पुर्याए, तर डाक्टरले बचाउन सकेनन्।त्यस दिन विष खानुअघि विमलाले आफ्ना बुबासँग स्कुलमा ढिला पुगेको भनेर आफूलाई गाली गरेको र गेटबाटै घर फर्काइदिएको भनेर पीडा सुनाएकी थिइन्।

स्थानीयका अनुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुढाथोकीको व्यवहार विद्यार्थी तथा विद्यालयका कर्मचारीप्रति पहिलेदेखि रुखो छ।यसैबीच नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियुकी महासचिव आरती लामाले बुधबार विज्ञप्ति जारी गरी दोषीलाई कारबाही गर्न माग गरेकी छन्।

‘२०७८ पौष ५ गते ओखलढुंगा जिल्ला चम्पादेवी गाउँपालिका वडा नं. ३ स्थित बालाज्योति माध्यामिक विद्यालय चित्रे कक्षा ८ मा अध्ययनरत छात्रा विमला बोगटी विद्यालय जाने क्रममा केही ढिलो भएको र विद्यालय प्रवेश गर्न खोज्दा विद्यालय प्रशासनले गेटभित्र छिर्न नदिएको र पछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं विद्यालय प्रशासनले विमलालाई धम्कीपूर्ण गालीगलौज गरी रेस्टिकेट गर्नेसम्म धम्की दिँदै विद्यालय अध्ययन गर्न नदिएकाले उक्त धम्कीपूर्ण व्यवहारको त्रासले पीडित भई विमलाले विषद सेवन गरिन्’,

लामो विज्ञप्तिमा लेखेकी छन्, ‘विष सेवन गरेपछि उपचारका लागि सामुदायिक मिसन अस्पताल ओखलढुंगा लगियो र उपचारको क्रममा विमलाको पौष ६ गते सामुदायिक मिसन अस्पताल सोब्रु ओखलढुंगामा निधन भएको छ। यस घटनाप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ, घटनाको अध्ययन गर्दा विमलाको हत्या भएको अनुमान गर्न सकिन्छ। तसर्थ यो घटनाको अनुसन्धान र दोषीउपर कडाभन्दा कडा कारबाहीको जोडदार माग गर्दछु।’

यसैबीच घटना अनुसन्धानका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय (ओखलढुंगा) लगेको छ।

प्रतिक्रिया दिनुहोस