माओवादीले अचानक यस्तो निर्णय गरेपछि प्रहरी सतर्क, ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले गरेको एक निर्णयका कारण सुरक्षा रणनीति परिवर्तन प्रहरीले ठूलो संख्यामा प्रहरी परिचान गरेको छ । माओवादीले पहिलो राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरेपछि प्रहरीलाई पनि सुरक्षा रणनीति परिवर्तन गर्न परेको हो ।

यसअघि तयार गरिएको सुरक्षा योजनामा प्रहरीले परिवर्तन गरेको छ । सुरक्षाकर्मी थप गरिएको छ भने मोबाइल गस्तीसहित सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार यसअघि प्रहरी उपरीक्षकको नेतृत्वमा ३६४ प्रहरी सम्मेलनको सुरक्षामा परिचालन गर्ने गरी सुरक्षा रणनीति बनाइएकामा त्यसलाई परिवर्तन गरी झण्डै ४५० को हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ ।

आइतवार अपराह्न हुने महाधिवेशन उद्घाटनलाई बढी केन्द्रित गरिएको छ । सुरक्षाकर्मी बिहानैदेखि महाधिवेशनस्थल र उपत्यकाका विभिन्न क्षेत्रमा परिचालन भइसकेको छ । ‘थप मद्दतसहित रिजर्व फोर्ससमेत तयारी अवस्थामा छ, महाधिवेशनको रूपमा गर्ने भनिसकेपछि हिजोको योजनाभन्दा थप सुरक्षा मजबुत बनाएका छौँ’, परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले भने।छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासहित राष्ट्रिय पार्टीका मुख्य नेताहरु आउने भएकाले सुरक्षाको मोडाडिटी परिवर्तन गरिएको हो । माओवादीको राष्ट्रिय सम्मेलन बिहान ११ बजेबाट सुरु हुने भनिएको थियो । तर महाधिवेशनको रूपमा हुने भएपछि कार्यक्रम समय परिवर्तन गरी ३ बजे पुर्‍याइएको छ । समुद्घाटनमा अन्य कार्यकर्तासमेत आउने भएकाले पनि केही भिडभाड बढ्ने भएकाले सोहीअनुसारको सुरक्षा रणनीति बनाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार महाधिवेशनमा झण्डै चार हजारदेखि पाँच हजार मानिस उपस्थित हुने अनुमान छ । महाधिवेशनको सुरक्षाका लागि अहिले बिहानदेखि नै तीन टोली परिचालन भइसकेको र बाँकी टोली केहीबेरमा थप गरिने प्रहरीले जनाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार भीडभाडको अवस्था हेरेर सोहीअनुसारको ट्राफिक व्यवस्थापन मिलाउने गरी ट्राफिक सुरक्षा योजना मिलाइएको छ । विशेषगरी सम्मेलनस्थल वरपरका सवारी रुटमा विशेष व्यवस्थापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस