जनतालाई दास बनाउने कुरा हामीलाई स्वीकार्य छैन : माधव नेपाल

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले जनतालाई दास बनाउने कुरा आफूहरुलाई स्वीकार्य नभएको बताउनुभएको छ ।

आइतबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन उद्घाटन समारोहको सफलताको शुभकामना व्यक्त गर्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो ।

‘जुनसुकै पार्टीमा भए पनि राष्ट्रियताको झन्डा उठाउनुपर्छ । देशको स्वाभिमानमाथि उठाउने सन्दर्भमा हामी एकताबद्ध भएर अगाडि बढ्नुपर्छ । राष्ट्रियताको सवालमा बिमति हुनुपर्ने कारण छैन’, अध्यक्ष नेपालले भन्नुभयो, ‘राष्ट्रियताको नाममा जनतालाई दास बनाउने कुरा हामीलाई स्वीकार्य हुँदैन । कुनै व्यक्ति र वंशको नाताशाही हामीलाई स्वीकार्य हुँदैन ।’

अध्यक्ष नेपालले सम्मान र मर्यादाको रक्षा गरेर अगाडि बढ्दा मात्र देशको प्रगति हुने उल्लेख गर्नुभएको छ । अब पार्टीको ध्यान असमानताको अन्त्य गर्ने कुरामा केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
‘सबैको सम्मान र मर्यादाको रक्षा गरेर अगाडि बढ्दा मात्र देशले प्रगति गर्नसक्छ’, उहाँले भन्नुभयो, ‘नेपाली समाजमा अन्याय विद्यमान छ । हाम्रो ध्यान असमानतालाई अन्त्य गर्ने कुरामा केन्द्रित हुनुपर्छ ।’

माओवादीले राष्ट्रिय सम्मेलन नगरेर महाधिवेशन गरोस् भन्ने चाहना रहेको र त्यसै भएको भन्दै अध्यक्ष नेपालले मन मिलेको उल्लेख गर्नुभयो । ‘मन र भावना मिलेपछि बाँकी अरु कुरा मिल्दै जान्छ’, अध्यक्ष नेपालले भन्नुभयो, ‘अहिले हामी नयाँ नेपाल निर्माण गर्ने अभियानमा छौँ । त्यसलाई सफल पार्न सबै मिल्नुपर्छ ।’

अध्यक्ष नेपालले अहिले पनि एकतावद्ध भएर जानुपर्ने अवस्था आएको उल्लेख गर्नुभयो । ‘विभिन्न दलका विभिन्न मान्यता छन् । मुल कुरामा हाम्रो सहमति भए अन्य कुरालाई थाति राख्न सकिन्छ’, अध्यक्ष नेपालले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस