यिनी हुन् गोरखा मनकामना माताकी दिदी, पुग्छ मनले चिताएको पुरा

तनहुँको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरी मन्दिरमा सोमबार सात हजारभन्दा बढी भक्तजनले दर्शन गरेका छन् । फागुपूर्णिमाको अवसरमा हरेक वर्ष मन्दिरमा मेला लाग्ने गर्दछ । तनहुँ जिल्लाका अतिरिक्त गोरखा, लमजुङका भक्तजन छिम्केश्वरी पुगेका थिए ।

आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरी मन्दिरमा पूजाअर्चना गरे मनले चिताएको पूरा हुने विश्वाससहित भक्तजन आउने गरेको छिम्केश्वरी पर्यटन विकास समितिका सचिव सन्तोष गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार होलीको दिन मात्रै सात हजार भक्तजनले छिम्केश्वरी र बूढीमाईको दर्शन गरेका छन् ।

समुद्री सतहबाट दुई हजार १३४ मिटर उचाइमा अवस्थित छिम्केश्वरी मन्दिरमा अहिले भक्तजनको आकर्षण बढ्दै गएको छ । हाल मन्दिरमा दैनिक २०-२५ जना भक्तजन आउने गरेको मन्दिरका पुजारी धनराज गुरुङले जानकारी दिनुभयो । एकादशी र औँशीबाहेकका दिनमा पूजाआजा हुने यस मन्दिरमा ब लि दिने परम्परा पनि छ ।

गोरखा मनकामनाकी दिदीका रूपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ । सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरीलेकमै अवस्थित छ भने साइली गोरख कालीमाई, काइली मनकामना माई,

अन्तरी इच्छाकामना माई, जन्तरी अन्नपूर्णा माई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ ।आँबुखैरेनीबाट लाब्दीसम्म १५ किमी कच्ची सडकमा जिपयात्रा र त्यसपछि पदयात्रामार्फत छिम्केश्वरी पुग्न सकिन्छ । छिम्केश्वरीबाट अपि, सैपाल, धवलागिरि, अन्नपूर्ण, मनास्लु, बुद्धहिमाल अवलोकन गर्न सकिन्छ ।

आँबुखैरेनी गाउँपालिकाले छिम्केश्वरी मन्दिरको पुनःनिर्माण पनि शुरु गरिसकेको छ । सडक नपुगेका कारण मानिसले बोकेरै निर्माण सामग्री छिम्केश्वरी पु¥याएका छन् । गाउँपालिकाले मन्दिर पुनःनिर्माणका लागि गत वर्ष रु २० लाख विनियोजन गरेको थियो ।

तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको मन्दिरको पुनःनिर्माणका लागि रु ८० लाख लाग्ने अनुमान गरिएको वडाध्यक्ष पञ्चबहादुर गुरुङले जानकारी दिनुभयो । निर्माण सामग्री आइनपुगेकाले हाल मन्दिरको निर्माण रोकिएको छ । मन्दिरमा हालिने झ्यालढोका बनाउन भक्तपुरका कालीगढलाई जिम्मा दिइएको छ ।

प्रतिक्रिया दिनुहोस