काठमाडौं । प्रविधि मार्फत डिजिटल वित्तीय सेवा प्रदान गर्दै आएको नेपालको अग्रणी फिनटेक कम्पनी एफवान सफ्ट इन्टरनेशनल २०औं वर्षमा प्रवेश गरेको छ ।
डिजिटल वित्तीय सेवा पुर्याउने उदेश्यले सन् २००४ को मार्च ६ तारेखबाट कम्पनीले आफ्नो सेवा सुरू गरेको थियो । १९ वर्षको अवधिमा कम्पनी नेपालको ठूलो र अग्रणी आईटी कम्पनीका रूपमा स्थापित हुन सफल भएको कम्पनीले बताएको छ । कम्पनीले वित्तीय क्षेत्रमा आवश्यक पर्ने सबैखाले प्रविधिको निर्माण गर्दै आएको छ ।
सुरूमा एसएमएस बैंकिङबाट आफ्नो सेवा स्थापना गरेको कम्पनीले हाल वित्तीय क्षेत्रलाई अवश्यक पर्ने इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, भाइबर बैंकिङ, फोनलोन जस्ता निकै रूचाइएका प्रविधिहरू निर्माण गरिसकेको छ ।
यस्तै एफवान सफ्टले इसेवा र फोनपे जस्ता मोबाइल मार्फत हुने भुक्तानीको समेत विकास गरेको छ । कम्पनीमा हाल १ हजार २ सय भन्दा बढी दक्ष जनशक्तिले रोजगारी पाएका छन् । यो २० वर्षको अवधिमा नेपालको डिजिटल फाइनान्सियल क्षेत्रमा टेवा पुर्याउन ठूलो भूमिका खेलेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।