माधव कुमार नेपालले बाँडेको भाइरस रिमुभिङ कार्ड घातक : स्वास्थ्य मन्त्रालय

कहिलेकाँही विज्ञहरुको वेवास्ता गर्दा आफूलाई ठूलै हुँ भन्नेहरु पनि भ्रमको सिकार हुन्छन् । त्यस्तै भएको छ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र स्थायी कमिटी सदस्यहरुलाई । हो, नेता नेपालले कोरोना भाइरसबाट बँच्न सकिने भन्दै वितरण गरेको भाइरस रिमुभिङ कार्डको कुनै अर्थ नरहेको पाइएको छ । स्वास्थ्य मन्त्रालयले उक्त कार्ड विक्रि वितरण गरे कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक चलिरहेको छ । आज तेस्रो दिन सकियो । अब १६ गते बस्नेछ । स्थायी कमिटीको पहिलो दिनदेखि नै सदस्यहरुले एउटा कार्ड भिरेको देखियो । उक्त कार्ड वरिष्ठ नेता माधवकुमार नेपालले वितरण गरेका थिए । र कार्डलाई ‘भाइरस रिमुभिङ कार्ड’ भनिएको छ ।

उक्त कार्ड लगाएपछि कोरोना भाइरस संक्रमण नहुने दावी पनि गरिएको छ । तर उक्त कार्डबारे भ्रम फैल्याइएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कडा आपत्ति जनाएको छ । नेपालमा विक्रि वितरण गर्नेलाई कडा कारबाही गर्ने चेतावनी पनि दिइएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले त्यस्ता कार्डले मुटु, फोक्सा लगायतमा अंगमा गम्भीर असर पार्नसक्ने चेतावनी पनि दिए । व्यक्तिगत स्वार्थका लागि जनस्वास्थ्यमाथि खेलवाड गर्नेलाई कारबाही प्रक्रिया अगाडि बढाइने गौतमले बताएका छन्

प्रतिक्रिया दिनुहोस