बेइजिङः चीनको शिनजियाङको मरुभूमि क्षेत्र नजिकै उइगर किसानहरूले पानीको चरम अभावलाई समाधान गर्न आफ्नै प्रयासबाट खनेका इनारहरू चिनियाँ सरकारले गैरकानूनी घोषित गर्दै बन्द गरिदिएको छ। रेडियो फ्रि एसिया (आरएफए) का अनुसार, यो चिनियाँ सरकारको कदमले स्थानीय समुदायलाई गम्भीर असर पुर्याएको छ । यी इनारहरू स्थानीय बासिन्दाहरूको दैनिक जीवन चलाउनका लागि महत्वपूर्ण थिए। यो घटना योपुर्गा काउन्टीको अच्चिक गाउँ र अन्य दुई गाउँमा भएको हो। योपुर्गा काउन्टी, जो काश्गर प्रिफेक्चरमा पर्दछ जुन टाक्लामाकान मरुभूमिको पश्चिमी किनारमा अवस्थित छ, जहाँ अधिकांश उइगर समुदायका मानिसहरूको बसोबास रहेको छ।
चिनियाँ सरकारले यस कदमलाई कानूनी प्रक्रिया अनुसार लिइएको भने पनि यसले दोहोरो मापदण्डको आरोपलाई थप बल दिएको छ। केही समयअघि शिनजियाङकै अर्को क्षेत्रमा हान चिनियाँ बस्तीहरूले कपास र तरकारी उब्जाउन खनेका ४६ गैरकानूनी इनार पत्ता लागेका थिए। ती इनारहरूले पानीका स्रोतहरूमा ठूलो प्रभाव पारेको भए पनि सरकारले त्यस्ता इनारहरूलाई छुन पनि सकेको छैन। यो परिस्थितिले उइगरहरूमाथि चिनियाँ सरकारको कडा रवैया र दमनलाई अझ प्रस्ट पारेको छ।
अमेरिकाको भर्जिनियामा बसोबास गरिरहेकी र पूर्व उइगर बन्दी जु्रमत डाउतले सामाजिक सञ्जालमा सार्वजनिक गरेका भिडियोहरूले यो घटना थप उजागर गरेको छ। उनले अच्चिक गाउँमा किसानहरूले खनेका इनारहरू पुरेर बन्द गर्न बाध्य पारिएको भिडियोहरू सामाजिक सञ्जालमा सेयर गरेकी छिन्। यी इनारहरूले पानीको चरम संकटमा रहेको यो क्षेत्रका मानिसहरूको जीवनलाई सहज बनाउने महत्त्वपूर्ण भूमिका खेलेका थिए। भिडियोहरूमा स्थानीय किसानहरूको निराशा र चिनियाँ अधिकारीहरूको कठोरता स्पष्ट रूपमा देखिन्छ।
अच्चिक गाउँका सुरक्षा निर्देशकले यो कदमको पुष्टि गर्दै फेब्रुअरी २०२४ देखि इनारहरू बन्द गर्ने कार्य थालिएको बताए। तर उनले यस कदमले स्थानीय जनतामा परेको असरबारे कुनै प्रतिक्रिया दिन अस्वीकार गरे। अर्कोतर्फ, योपुर्गा काउन्टीकै टेरिम गाउँमा पनि यस्तै कदम चालिएको छ। स्थानीय बासिन्दाहरूलाई आफ्नै इनारको पहुँचबाट बञ्चित गर्दै राज्यद्वारा सञ्चालित बिंग्तुआन उत्पादन तथा निर्माण कोर्प्सबाट महँगो शुल्क तिरेर पानी खरीद गर्न बाध्य पारिएको छ।
यस कदमले उइगर समुदायको जीवनमा गम्भीर संकट उत्पन्न गरेको छ। पानीजस्तो आधारभूत सुविधाको पहुँचबाट वञ्चित गरिँदा स्थानीय जनताले सामना गर्नुपरेको कठिनाइलाई धेरैले चिनियाँ सरकारको दमनको रूपमा हेरिरहेका छन्।