म्याओ बसोबास कार्यक्रममा सियोंग पेन्पा छेरिङद्वारा तिब्बतमाथि चीनको निरन्तर उत्पीडनको कडा भर्त्सना

 

धर्मशाला— केन्द्रीय तिब्बती प्रशासन (सीटीए) का प्रमुख सियोंग पेन्पा छेरिङले ईटानगरस्थित म्याओ छोएफेलिङ तिब्बती बसोबास क्षेत्रमा आयोजित सभालाई सम्बोधन गर्दै चीनले गरिरहेको दमन र उत्पीडनको गम्भीर विषय उठाएका छन्।

उक्त कार्यक्रममा उनले तिब्बती निर्वासित समुदायलाई आफ्नो भाषा, संस्कृति, र पहिचान जोगाइराख्न आह्वान गरे। चीनले तिब्बतको मौलिक संस्कृतिलाई नष्ट गर्ने नियतले गरिरहेको योजनाबद्ध प्रयासहरूको विरोध गर्दै उनले भने, ‘चीनका नीतिहरूले तिब्बतको भाषा, धर्म, र परम्परालाई मेटाउन खोजिरहेका छन्।’

सियोंगले तिब्बती युवाहरूलाई आफ्नो भाषा सिक्न र तिब्बती इतिहासको गहिरो अध्ययन गर्न जोड दिए। उनले भने, ‘तिब्बतको पहिचान जोगाउने संघर्ष केवल राजनीतिक मात्र होइन, यो सांस्कृतिक अस्तित्व जोगाउने लडाइँ पनि हो । निर्वासनमा रहेर पनि तिब्बती सम्पदाको जगेर्ना गर्न उनले सबैलाई एकताबद्ध हुन आग्रह गरे।

उनले हालैको अन्तर्राष्ट्रिय उपलब्धिहरूको चर्चा गर्दै अमेरिकामा पारित तिब्बतसम्बन्धी समर्थन कानूनलाई चीनको आक्रामक नीतिहरूको प्रतिवादमा महत्त्वपूर्ण सफलता माने। तर उनले चेतावनी दिँदै भने, ‘अझ धेरै काम बाँकी छ, चीनको दमनकारी नीतिहरूको विरुद्ध विश्वभर जागरुकता फैलाउन हामी निरन्तर लागिरहनु पर्दछ।’

सियोंगले केन्द्रीय तिब्बती प्रशासनलाई सुदृढ बनाउनका लागि गरिएका पहलहरूबारे पनि जानकारी दिए, जसमध्ये महत्त्वपूर्ण तिब्बती दस्तावेजहरूलाई डिजिटल बनाउने र बौद्ध डिजिटल पुस्तकालय स्थापना गर्ने योजना उल्लेखनीय छ।

दलाई लामाको शान्ति र अहिंसाको सन्देशलाई दोहोर्‍याउँदै उनले भने, ‘तिब्बतको भविष्य एकता, अहिंसा, र तिब्बती जनताको दृढ साहसमा आधारित हुनेछ।’

प्रतिक्रिया दिनुहोस