किन्शासा— डेमोक्रेटिक रिपब्लिक अफ कंगोको इतुरी प्रान्तमा गम्भीर वातावरणीय सङ्कट उत्पन्न भइरहेको छ। युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत ओकापी वन्यजन्तु आरक्षित क्षेत्र, जहाँ पृथ्वीका केही दुर्लभ प्रजातिहरू पाइन्छन्, अहिले चिनियाँ खानी सञ्चालनका कारण विनाशको संगारमा पुगेको छ।
अन्तर्राष्ट्रिय संरक्षण मापदण्ड र कंगोको कानुनको उल्लङ्घन गर्दै किमिया माइनिङ इन्भेस्टमेन्टले इतुरी नदी आसपासको क्षेत्रलाई तहसनहस बनाइरहेको छ। पहिले घना जंगलले भरिएको यो क्षेत्र, जहाँ संकटग्रस्त वन्यजन्तुहरू बास बस्दथे, अहिले भारी मेशिनरी, कामदारका आवास र प्रशोधन केन्द्रले भरिएको छ। संरक्षित क्षेत्रहरूमा भइरहेको यस किसिमको अनियन्त्रित स्रोत शोषण अफ्रिकाभरि चिनियाँ प्रभाव विस्तारको उदाहरण बनेको छ।
खानी सञ्चालनलाई सम्भव बनाउन आरक्षित क्षेत्रको सिमाना विवादास्पद रूपमा परिवर्तन गरिएको आरोप छ। मूल रूपमा खानी निषेध गरिएको यस क्षेत्रमा, अस्पष्ट परिस्थितिमा सिमाना फेरबदल गरिएको र त्यसकै कारण किमिया माइनिङका गतिविधिहरू अघि बढ्न सकेको स्थानीय अधिकारीहरूले बताएका छन्। यद्यपि कम्पनीले आधिकारिक नक्साको पालन गरिरहेको दाबी गरे पनि, कंगोका संरक्षित क्षेत्रहरूको व्यवस्थापन निकायले यसलाई अस्वीकार गर्दै पुरानै सिमानालाई मान्यता दिनुपर्ने अडान राखेको छ।
खानीका कारण देखिएको विनाश केवल फँडानीमा मात्र सीमित छैन। किमिया माइनिङका पूर्व कर्मचारीहरूले सुन निकाल्न पारा प्रयोग गरिएको खुलासा गरेका छन्, जसले स्थानीय जल स्रोत र माटो विषाक्त बनाइदिएको छ। कम्पनीले छोडेका खानी खाल्डाहरू वन्यजन्तु र स्थानीय बासिन्दाका लागि खतरनाक बनेका छन् भने कृषिमा समेत नकारात्मक असर परेको छ। बाली उत्पादनमा ठूलो गिरावट आएसँगै किसानहरू समस्यामा परेका छन्। ओकापी वन्यजन्तु आरक्षित क्षेत्र, जहाँ विश्वका बाँकी ३०,००० ओकापीमध्ये १५ प्रतिशत पाइन्छन्, अहिले अस्तित्वको सङ्कटमा छ। खानी विस्तारसँगै चोरी सिकारी गतिविधि समेत बढेको छ। कुनै समय स्थानीय समुदायका लागि दिगो शिकार स्थल रहेको यो क्षेत्र अहिले औद्योगिक बन्जर जमिनमा परिणत भएको छ।
यो विनाश चिनियाँ स्रोत शोषणको कंगोमा बढ्दो प्रवृत्तिको हिस्सा हो। दक्षिण किभु प्रान्तमा १७ जना चिनियाँ नागरिकलाई अवैध सुन खानी सञ्चालन गरेको आरोपमा पक्राउ गरिएको घटनाले यस्ता अनधिकृत सञ्चालनहरू कति व्यापक छन् भन्ने देखाउँछ। यी गतिविधिहरूले वातावरण र स्थानीय समुदायमा परेको मानवीय असर झनै गम्भीर बनाइरहेका छन्। परम्परागत खानी र कृषि पेशामा निर्भर रहेका स्थानीय समुदायहरूले आफ्नो जीविकोपार्जन गुमाएका छन्। किमिया माइनिङले स्थानीयलाई बाँकी रहेका खनिज निकाल्न अत्यधिक शुल्क लिने गरेको छ, जसले गर्दा धेरै मानिस गरिबीमा धकेलिएका छन्। यो अवस्था कंगोमा चिनियाँ रणनीतिको भाग हो, जसको उदाहरण २००८ मा भएको विवादास्पद सिकोमाइन्स सम्झौता हो। ६ अर्ब डलरको सम्झौताले पूर्वाधार विकासको वाचा गर्दै खानी अधिकार सुनिश्चित गरेको थियो, तर लगानी वाचा गरिएको रकमको सानो अंशमा मात्र सीमित रह्यो भने चिनियाँ कम्पनीहरूले कंगोका कोबाल्ट र तामा खानीहरूमा नियन्त्रण जमाए।
केवल जनवरीदेखि मे महिनाको अवधिमा आरक्षित क्षेत्रले ४८० हेक्टरभन्दा बढी जंगल गुमाइसकेको छ, जुन करिब ९०० अमेरिकी फुटबल मैदान बराबर हो। यो विनाशले केवल स्थानीय जैविक विविधतालाई मात्र होइन, विश्वव्यापी जलवायु सन्तुलनलाई समेत असर गर्ने खतरा छ ।