श्रीनगर— भारतको श्रीनगरका गणित शिक्षक तथा नवप्रवर्तक बिलाल अहमदले कश्मीरकै पहिलो सौर्य ऊर्जामा चल्ने कार ‘रे’ फेब्रुअरी १० मा सार्वजनिक गर्ने भएका छन्।
प्रशंसकहरूले उनलाई ‘कश्मीरका एलन मस्क’ भनेर सम्बोधन गर्छन्। आर्थिक कठिनाइका बाबजुद उनले वर्षौंको परिश्रमपछि यो नवप्रवर्तन गरेका हुन्।
बिलालले १ किलोवाट क्षमताको सौर्य प्यानल जडित कार बनाउन लगभग २२ लाख भारतीय रुपैयाँ खर्च गरेका छन् । यस कार निर्माणमा उनको निजी लगानी रहेको छ । यस कार निर्माणमा भारतको महिन्द्रा कम्पनीले चासो देखाए पनि प्राविधिक जटिलताका कारण सहकार्य हुन भने सकेन।
कारको डिजाइन हावा प्रतिरोध कम गरी ऊर्जा दक्षता बढाउने गरी तयार गरिएको छ। यसमा अत्याधुनिक ब्याट्री व्यवस्थापन प्रणाली र स्वचालित पार्किङका लागि स्मार्ट सेन्सर जडान गरिएको छ। सौर्य प्यानलले सूर्यको दिशा अनुसार आफैँ समायोजन गर्दै ऊर्जा उत्पादनमा वृद्धि गर्छ।
‘रे’ को सबैभन्दा विशेष पक्ष भनेको यसको ऊर्जा उत्पादन गर्ने गल—विङ ढोका हो, जसले थप ऊर्जा आपूर्ति गर्छ।
बिलालको नवप्रवर्तनमा पेटेन्ट प्राप्त भइसकेको छ र उनको अनुसन्धान अन्तर्राष्ट्रिय स्तरमा प्रकाशित भएको छ। उनी सामाजिक सञ्जालमा व्यापक रूपमा सराहना पाइरहेका छन् र धेरैले उनलाई एलन मस्कसँग तुलना गरेका छन्।
उनले सुरुमा अपांग व्यक्तिहरूका लागि कार डिजाइन गर्ने योजना बनाएका थिए, तर आर्थिक अभावले रोकिएको बताए। बिलालले भने, “यदि आवश्यक सहयोग पाएको भए, म कश्मीरको अटोमोबाइल उद्योगमा क्रान्ति ल्याइसकेको हुने थिएँ।”