वासिङ्टन डीसी— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रधानमन्त्री नरेन्द्र मोदीसँगको द्विपक्षीय वार्तापछि ठूलो घोषणा गर्दै सन् २००८ को मुम्बई आतंकवादी आक्रमणका आरोपी तहव्वुर रानालाई भारत पठाउन सहमति जनाएका छन्। सेटेम्बर २६ मा भएको मुम्बईको ताज होटल हमलाका मुख्य आरोपी हाल अमेरिका स्थित उच्च—सुरक्षायुक्त कारागारमा रहेका छन्, र भारतले विगत लामो समयदेखि उनको सुपुदर्गी माग गर्दै आएको थियो।
‘हामी एक अत्यन्त खतरनाक अपराधीलाई भारत सुपुर्दगी गर्दैछौं, जसले २६—११ मुम्बई आतंकवादी हमलामा संलग्न रहेको आरोप लागेको छ’, राष्ट्रपति ट्रम्पले भने।
सन् २०२५ को जनवरी २१ मा अमेरिकी सर्वोच्च अदालतले तहव्वुर रानाको पुनरावलोकन याचिका अस्वीकार गरेपछि भारतमा सुपुदर्गी गर्न बाटो खुलेको हो । ‘हालैको सर्वोच्च अदालतको फैसलालाई ध्यानमा राख्दै र अमेरिकी कानुनअनुसार, स्टेट डिपार्टमेन्ट यस मामलामा आगामी कदमहरूको मूल्याङ्कन गरिरहेको छ’, अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाद्वारा आतंक आरोपीको सुपुदर्गीलाई समर्थन गरेकोमा धन्यवाद व्यक्त गर्दै राष्ट्रपति ट्रम्पलाई यस प्रक्रिया छिटो अघि बढाएकोमा आभार व्यक्त गरे। ‘मुम्बई आतंकवादी हमलाका एक अपराधीलाई भारतमा अनुसन्धान र मुद्दा चलाउनका लागि पठाइँदैछ। म राष्ट्रपति ट्रम्पलाई यो प्रक्रिया तिव्र पारिदिएकोमा धन्यवाद दिन्छु’, मोदीले भने।
पाकिस्तानी मूलका व्यापारी तहव्वुर हुसैन राना, जसलाई मुम्बई आक्रमणमा संलग्न भएको पुष्टि भइसकेको छ, अब भारतीय सुरक्षा एजेन्सीहरूद्वारा सोधपुछ गरिनेछ र भारतमा मुद्दा चलाइनेछ। मुम्बई हमलामा १६४ निर्दोष व्यक्तिहरूको ज्यान गएको थियो, जसको न्याय दिलाउन भारत लामो समयदेखि प्रयासरत थियो।