अमेरिकाले चीनमा रहेको आफ्नो कूटनीतिक मिशन १० प्रतिशतसम्म घटाउने

 

न्यूयोर्क— संयुक्त राज्य अमेरिकाले चीनमा रहेको आफ्नो कूटनीतिक मिशनको आकार १० प्रतिशतसम्म घटाउने तयारीमा रहेको छ।

स्थानीय मिडियालाई उद्धृत गर्दै रोयटर्सले दिएको जानकारीअनुसार, मुख्य भूमि चीन तथा हङकङमा कार्यरत अमेरिकी कूटनीतिज्ञहरू तथा स्थानीय कर्मचारीहरूलाई छिट्टै सूचना दिइने सम्भावना छ।

यस कटौतीले बेइजिङस्थित अमेरिकी दूतावास तथा ग्वाङझाउ, सांघाई, शेनयाङ, वुहानका कन्सुलेटहरू साथै हङकङस्थित कन्सुलेटलाई असर गर्नेछ। यसअन्तर्गत केही कर्मचारीहरूलाई हटाइनेछ, तर उनीहरूलाई अन्यत्र पुनः नियुक्त गरिने वा नगरिने स्पष्ट छैन।

यो खबर आएपछि, चीनस्थित अमेरिकी मिशनको नेतृत्वले दूतावासका कर्मचारीहरूलाई पठाएको सन्देशमा यस्तो रिपोर्टलाई अस्वीकार गरेको बताइएको छ। दूतावासका प्रवक्ताहरू तथा अमेरिकी विदेश मन्त्रालयले यस विषयमा कुनै तत्काल प्रतिक्रिया दिएका छैनन्।

राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विश्वभरका अमेरिकी दूतावासहरूलाई कर्मचारी कटौतीको तयारी गर्न निर्देशन दिएको रोयटर्सले उल्लेख गरेको छ। ट्रम्प तथा उनका निकट सहयोगी एलन मस्कले अनावश्यक सरकारी खर्च कटौती गर्ने प्रयास गरिरहेका छन्।

बेइजिङस्थित अमेरिकी दूतावास १० एकड क्षेत्रफलमा फैलिएको छ, जसमा ६ वटा भवनहरू छन्। २०१६ मा एक नयाँ भवन थपिएको थियो। अमेरिकी दूतावास तथा कन्सुलेटको आधिकारिक वेबसाइटअनुसार, बेइजिङको यो दूतावासमा १,३०० भन्दा बढी अमेरिकी तथा स्थानीय कर्मचारीहरू कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस