बेइजिङ— विश्व उइघुर कांग्रेस (डब्लुयूसी) ले चीनद्वारा पूर्व गणित प्राध्यापक यालकुन इसालाई २० वर्षको जेल सजाय सुनाइएको घटनाको कडा निन्दा गरेको छ। ६३ वर्षीय यालकुन इसा, डब्लुयूसीका पूर्व अध्यक्ष तथा मानवअधिकार कार्यकर्ता डोलकुन इसाका दाजु हुन्। रेडियो फ्री एसिया (आरएफए)ले फेब्रुअरी २८, २०२५, मा प्रकाशित गरेको रिपोर्टअनुसार चिनियाँ अदालतले उनलाई ‘आतंकवाद गतिविधिमा संलग्न रहेको आरोपमा दोषी ठहर गर्दै कठोर सजाय सुनाएको हो। यालकुन इसाको यो मुद्दा उनको भाई डोलकुन इसासँगको संचारसँग जोडिएको बताइएको छ। डोलकुन इसा चीनद्वारा उइघुरहरूमाथि भइरहेको दमनका कट्टर आलोचक हुन्।
डब्लुयूसी अध्यक्ष तुर्गुनजान अलाउडुनले यालकुन इसाको जेल सजायलाई चीनद्वारा उइघुरहरूमाथि भइरहेको व्यवस्थित दमनको अर्को उदाहरण बताएका छन्। उनले चीनले उइघुर बुद्धिजीवीहरूलाई झूटा आरोपमा पक्राउ गरी उनीहरूको पहिचान मेटाउने प्रयास गरिरहेको आरोप लगाए। संगठनका अनुसार पूर्वी तुर्किस्तानमा शिक्षक, बुद्धिजीवी, तथा सांस्कृतिक व्यक्तित्वहरूलाई झूटा आरोप लगाएर गिरफ्तार गर्ने क्रम व्यापक रूपमा भइरहेको छ।
यालकुन इसाको मुद्दा डोलकुन इसाको परिवारमाथि चीनद्वारा भइरहेको निरन्तर दमनको भाग भएको जनाइएको छ। सन् २०१७ मा उनका अर्का दाजु हुश्तार इसालाई जन्मकैद दिइएको थियो। सन् २०१८ मा उनकी आमा आइहान मेमेटको पुनर्शिक्षा शिविरमा मृत्यु भएको थियो भने २०२० मा उनका बुबाको मृत्युको पुष्टि चिनियाँ सरकारी सञ्चारमाध्यमले गरेको थियो। यी घटनाहरूले चीनले उइघुर कार्यकर्ताहरूलाई दबाउन उनीहरूको परिवारलाई लक्षित गरिरहेको देखाउँछ।
डोलकुन इसाले आफ्ना परिवारमाथि भइरहेको दमनबारे दुःख व्यक्त गर्दै भने, “मेरो सक्रियताका कारण मेरो परिवारलाई निरन्तर निशाना बनाइँदै आएको छ। यो केवल मेरो समस्या होइन, सम्पूर्ण उइघुरहरूको साझा पीडा हो। म विश्वका सरकारहरूलाई उइघुरहरूप्रति ऐक्यबद्धता जनाउन आग्रह गर्दछु।”
डब्लुयूसीले यालकुन इसा सहित सबै निर्दोष उइघुरहरूको तत्काल रिहाइको माग गर्दै चीनलाई मानवअधिकार उल्लंघनको लागि अन्तर्राष्ट्रिय स्तरमा जवाफदेही बनाइनुपर्नेमा जोड दिएको छ। संगठनले उइघुर समुदायमाथि भइरहेको दमन रोक्न अन्तर्राष्ट्रिय हस्तक्षेपको आवश्यकता रहेको बताएको छ।