नयाँ दिल्ली— भारतीय वैज्ञानिकहरूले हरित हाइड्रोजन उत्पादन प्रविधिमा महत्वपूर्ण सफलता हात पारेका छन्। बैंगलोरस्थित सेंटर फर नानो एण्ड सफ्ट म्याटर साइन्सेसका अनुसन्धानकर्ताहरूले उच्च(एन्ट्रोपी मिश्र धातु (एचइए) आधारित उत्प्रेरक (क्याटालिस्ट) विकास गरेका छन्, जसले हाइड्रोजन उत्पादनलाई किफायती र प्रभावकारी बनाउनेछ। हाल हाइड्रोजन उत्पादन प्लेटिनम र इरिडियम जस्ता महँगो धातुमा निर्भर छ, जसले यसको लागतमा अत्यधिक वृद्धि गरेको छ। वैज्ञानिकहरूले विकास गरेको एचइए क्याटालिस्टले यी बहुमूल्य धातुको प्रयोग घटाउने र हरित हाइड्रोजनलाई व्यापारिक रूपमा पनि सहज बनाउने अपेक्षा गरिएको छ।
उच्च—एन्ट्रोपी मिश्र धातुहरू विभिन्न तत्वहरूको मिश्रणबाट बनेका हुन्छन्, जसले तिनलाई परम्परागत उत्प्रेरकहरूभन्दा बढी प्रभावकारी बनाउँछ। एचइए क्याटालिस्टमा रहेको अद्वितीय आणविक संरचनाले हाइड्रोजन उत्पादन प्रक्रियालाई तीव्र बनाउँछ भने उर्जाको खपत घटाउँछ, र दीर्घकालीन स्थायित्व प्रदान गर्छ। साथै, एचइए उत्प्रेरकमा प्रयोग गरिएका तत्वहरू प्रशस्त मात्रामा उपलब्ध हुने भएकाले यसको उत्पादन लागत पनि तुलनात्मक रूपमा कम हुन्छ। यसले हाइड्रोजन उत्पादनलाई औद्योगिक रूपमा द्रुत गतिमा विस्तार गर्न मद्दत गर्नेछ।
भारत सरकारको राष्ट्रीय हाइड्रोजन मिशन अन्तर्गत हरित हाइड्रोजनलाई प्रवर्द्धन गर्ने नीति अघि बढिरहेको छ। यो नवीन एचइए क्याटालिस्टले भारतलाई विश्वको एक प्रमुख हाइड्रोजन उत्पादन केन्द्र बनाउन सहयोग गर्नेछ। साथै, यस प्रविधिले परिवहन क्षेत्रमा हाइड्रोजन इन्धन—आधारित बस तथा रेलको प्रयोगलाई सस्तो बनाउने तथा नवीकरणीय ऊर्जाको विकासलाई गति दिने अपेक्षा गरिएको छ। यस प्रविधिले इन्धन आयातमा निर्भरता घटाउने र वातावरण प्रदूषण कम गर्ने मुख्य लक्ष्य बोकेको छ।
हाल यो एचइए उत्प्रेरकलाई अझ प्रभावकारी बनाउन थप अनुसन्धान भईराखेको छ। भारतीय वैज्ञानिकहरूको यो आविष्कारले हरित हाइड्रोजन उत्पादनमा क्रान्ति ल्याउँदै, स्वच्छ ऊर्जा प्रवर्द्धन गर्ने तथा आर्थिक वृद्धिमा योगदान पुर्याउनेछ।