‘मर्नुअघि तिम्रो मुख हेर्ने धोको छ छोरा, जहाँ भए पनि एक पटक घर आउन ल’

रामकुमार थापा/धादिङ ।धादिङ – वि.स २०७३ सालको नयाँ वर्षमा घर आउँछु भनेका धादिङ धुनिवेशी नगरपालिका–१, उप्रेती गाउँका राजन उप्रेती अझैसम्म पनि घर फर्कनुभएको छैन ।

जर्मनी गएको ९ महिनामै त्यहाँबाट फर्केका राजन काठमाण्डौ ओर्लिएर दिदी कल्पना पाठकको घर बसेर घर आउँछु भनेको ४ वर्ष भयो, तर अझै पनि अत्तोपत्तो छैन । छोरो राजन उप्रेती आउने बाटो कुरेर बस्नुभएकी आमा राधिका उप्रेतीका आँखा दिनभरि घरछेउकाे बाटाे हेर्दाहेर्दै थाक्छन् ।

घर सल्लाह गरेर पढ्नको लागि जर्मन गएका राजन गएको ९ महिनामा नेपाल फर्कनुपर्यो । राजनको जर्मन सोचजस्तो भएन । १२ लाख रुपँैया खर्च गरेर जर्मनी गएका राजन दुई पटकसम्म जर्मनीको विद्यालयमा परीक्षा दिँदा पनि सफल हुनुभएन । परीक्षामा सफल हुन नसकेपछि राजन जर्मनीमा भागेर काम गर्न थाल्नुभयो । त्यसरी विद्यार्थी भिसामा गएको र भागेर काम गरेको थाहा पाएपछि जर्मन प्रहरीले राजनलाई समातेर घर फर्काइदियो ।

सुन्दर सपना देखेर जर्मन जानुभएका राजनको वैदेशिक यात्रा सफल नभएपछि उहाँ चिन्तामा रहनुभएको माइलो दाजु मनोज उप्रेतीले बताउनहुन्छ । नेपाल ल्याउनको लागि त्यस बेलामा जमर्न प्रहरी समक्ष २ लाख ३४ हजार हर्जना तिर्नुपरेको मनोज उप्रेतीले बताउनुभयो ।

नेपाल आइसकेपछि राजनले घरमा फोन पनि गर्नुभएको थियो । त्रिभुवन विमानस्थलमा ओर्लिएपछि राजनले माइला दाजु मनोज उप्रेतीलाई फोन गरेर किन लिन नआएको भनेर पनि सोध्नुभएको थियो । मनोजले आफू खेतमा काम गरिरहेकाले आउन नभ्याएको बताउनु पनि भयो ।

‘त्यसपछि भाइले दिदी कल्पना पाठकको घरमा बसेर भोलि आउँछु भनेको थियो तर चार वर्ष भयो मरे बाँचेको थाहा छैन’, माइला दाजु मनोजले आँखभरि आँसु पार्दै भन्नुभयो ।
।’

भाइ बेपत्ता भएपछि दाइ मनोजले प्रहरी कार्यालयमा पनि निवेदन दिनुभएको छ । तर अहिले सम्म कुनै अत्तोपत्तो भएको छैन । अस्पतालमा बेवारिसे शव तथा मानिस भेटियो भनेपछि दाजु मनोज उप्रेती कतै आफ्नै भाइ पो हो की भन्दै दगुर्दै अस्पताल पुग्नुहुन्छ ।

केहि गर्दा पनि कतैबाट भाइको खबर नआएपछि दाजु मनोज उप्रेती पनि चिन्तामा हुनुहुन्छ । भाइको खोजी गर्नको लागि झाँक्रीलाई पनि हेराउनु भएको छ । एक पटक जसरी भए पनि जहाँ भए पनि घर आउनको लागि दाजु मनोज उप्रेतीले आग्रह गर्नुभएको छ ।

परिवारले राजन उप्रेतीको खोजी गरीदिन आप्रवासी श्रोत केन्द्र धादिङमा पनि निवेदन दिनुभएको छ । राजन उप्रेतीको खोजीको लागि आप्रवासी श्रोत केन्द्र धादिङले सरोकारवाला निकाय सँग समन्वय गरेर काम गरीरहेको सुरक्षित आप्रवासन सामी परियोजनाका कार्यक्रम संयोजक दिनेश दुवाडीले जानकारी दिनुभयो । (उज्यालो अनलाई )

प्रतिक्रिया दिनुहोस