तपाईलाई थाहा छ? पृथ्वीका सबै मानिसलाई माकुराले एक वर्षमै खाइदिन सक्छ !

विश्वका सबै ठाउँमा पाइने जीवमध्ये माकुरा एक हो । हाम्रो वरिपरि जताततै माकुरा हुन्छन् । केही ठूला प्रजातीका हुन्छन्, केही साना । प्रजातीअनुसार माकुराले खानो आहार फरक हुन्छ । तर माकुराको भोक भने अनौठो हुने गर्छ । केही ठूला प्रजातिका माकुराले छेपारो, चरा र सानातिना स्तनधारी जनावर पनि खाने गरेको पाइन्छ । माकुराको भोकको यस्तै प्रकृतिलाई देखेर दुई युरोपेली बायोलोजिस्टले हालै एक अनुसन्धान गरेका छन्, पृथ्वीमा भएका सारा माकुराले एक वर्षमा खाने खानाको तौल कति होला ?

मार्टिन नेफ्लर र क्लाउस बर्कहोफरले गरेको अनुसन्धान ‘साइन्स अफ नेचर’ नामक जर्नलमा प्रकाशित भएको छ । जसअनुसार पृथ्वीका सारा माकुराले एक वर्षमा ४० देखि ८० करोड टन शिकार गर्न सक्छन् । यसको अर्थ पृथ्वीमा माकुराले सारा मानिसले जति नै मासु खान सक्छन् । विश्वका सात अर्ब मानिसले वार्षिक ४० करोड टन माछा र मासु उपभोग गर्ने जनाइएको छ ।

अझ एउटा अर्को अनौठो तुलना गरौँ, पृथ्वीमा भएका सम्पूर्ण वयश्क मानिसको तौल अनुमानित रुपमा २८.७ करोड टन हुन्छ । त्यसमा बच्चाबच्चीको तौल सात करोड टन जोडिदिँदा पनि त्यो वर्षभरीमा पृथ्वीका माकुराको खानाको तौलभन्दा कम हुन पुग्छ ।

अर्काे शब्दमा भन्नुपर्दा माकुराले पूरै मानिसहरुलाई खाइसक्दा पनि उनीहरु अघाएका हुँदैनन् ।

यो निष्कर्षमा पुग्न यी वैज्ञानिकले विभिन्न अनुसन्धानको सहारा लिएका छन् । उदाहरणका लागि जमीनको एक वर्ग मिटर क्षेत्रफलमा कति माकुरा बस्छन् वा एक माकुराले एक वर्षमा कति खाना खानसक्छ ? एक अनुसन्धानअनुसार औसत रुपमा पृथ्वीको एक वर्गमिटर क्षेत्रफलमा १३१ माकुरा बस्छन् ।

नेफ्लर र बर्कहोफरका अनुसार पृथ्वीका सबै माकुरालाई एकै ठाउँमा राखेर जोख्ने हो भने तिनीहरुको तौल २।५ करोड टन हुन आउँछ। एउटा टाइटानिक जहाजको तौल ५२ हजार टन थियो । तसर्थ पृथ्वीका सबै माकुराको तौल ४७८ टाइटानिकबराबर हुन आउँछ ।

जीव वैज्ञानिकहरुका अनुसार माकुराले सामान्यत एक दिनमा आफ्नो तौलको १० प्रतिशत बराबर तौलको खाना खाने गर्छ । यसको अर्थ नौ सय किलोको माकुराले एक दिनमा ९० किलोको मानिसलाई खाइसक्छ ।

माकुराको भोक यति डरलाग्दो भए पनि यसले मानिसलाई फाइदा नै र्पुयाएको छ। उनीहरुको भोककै कारण झिंगा, लामखुट्टे, किराफट्यांग्रा, आदिको संख्या अनियन्त्रित भएको छैन ।

प्रतिक्रिया दिनुहोस