राप्रपा अध्यक्षमा हारेपछि कमल थापाले भने- ‘धन्यवाद ज्ञानेन्द्र शाह, राजसंस्था बोकेर हिंडेको पुरस्कार पाइयो’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले पार्टीको महाधिवेशनमा निर्मल निवासले हस्तक्षेप गरेको आरोप लगाएका छन् ।नव निर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाई तथा शुभकामना दिँदै उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु ।

’ लिङ्देनलाई पूर्व राजा ज्ञानेन्द्रको साथ रहेको बताइएको थियो । त्यसप्रति थापाले असन्तुष्टि जनाएका हुन् । भर्खरै सार्वजनिक मत परिणाम अनुसार उनी अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएका छन् । यद्यपि, उनले पराजयलाई सहर्ष स्वीकार गर्ने बताएका छन् ।

उनले २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइएको भन्दै गुनासो समेत गरेका छन् । सो एजेण्डाको मूल संवाहकलाई राजाले राजनीतिक रुपमा समाप्त पार्न खोजेको पनि आरोप लगाएका छन् । ‘सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शीरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेण्डाको मूल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् । हार्दिक शुभ–कामना ।,’ उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस