उइघुर समुदायको जनसंख्या नियन्त्रण गर्न महिलालाई बन्ध्याकरण वा गर्भनिरोधक उपकरण प्रयोग गर्न चीन सरकारको उर्दी

 

बेइजिङ— चीनले पश्चिमी शिनजियाङ क्षेत्रमा उइघुर र अन्य मुस्लिम अल्पसंख्यक समुदायहरूको जनसंख्या नियन्त्रण गर्न महिलाहरूलाई जबर्जस्ती बन्ध्याकरण वा गर्भनिरोधक उपकरण प्रयोग गर्न बाध्य पारिरहेको छ। चीनका विज्ञ एड्रियन जेन्जले चीनको यो नीतिले उइघुर समुदायको नरसंहार रुपमा व्याख्या गरेका छन् ।

यद्यपी, यस विषयमा अन्तर्राष्ट्रिय छानबिनको माग गरेपछि चीनले आरोपहरूलाई निराधार भएको प्रतिक्रिया दिएको छ । २०१७ देखि शिनजियाङमा १० लाखभन्दा बढी उइघुर र अन्य मुस्लिम जातीय समूहका सदस्यहरूलाई बन्दी शिविरमा राखिएको चीनले यसअघि नै आलोचना भोग्दै आएको छ। चीनले यी शिविरहरूलाई पुनशिक्षा र तालिम केन्द्र भन्दै आतंकवाद र उग्रवाद विरुद्ध आवश्यक कदम भनेको छ।

अध्ययन अनुसार, उइघुर महिलाहरूलाई कडा जन्म नियन्त्रण नीतिको उल्लंघन गरे कारावास वा शिविरमा पठाउने धम्की दिने गरिएको छ। सहरमा दुई र ग्रामिण क्षेत्रमा तीनभन्दा बढी बच्चा भएका महिलाहरूलाई जबर्जस्ती बन्ध्याकरण वा गर्भनिरोधक उपकरणहरू प्रयोग गर्न बाध्य बनाइएको छ। केही महिलाहरूलाई महिनावारी रोक्ने वा असामान्य रक्तस्राव गराउने इंजेक्सन दिइएको उल्लेख गरिएको छ।

सरकारी दस्तावेजहरूले ग्रामीण क्षेत्रका उइघुर महिलाहरूलाई बारम्बार अनिवार्य स्त्रीरोग जाँच र गर्भ परीक्षण गराइएको देखाउँछन्। २०१५ देखि २०१८ सम्म शिनजियाङमा उइघुरहरूको जनसंख्या वृद्धिदर ८४ प्रतिशतले घटेको तथ्यांकले देखाउँछ।

चीनले हान जातिका पुरुषहरूलाई उइघुर महिलासँग विवाह गर्न प्रोत्साहित गरिरहेको र शिनजियाङमा हान आप्रवासीहरूलाई भूमि, रोजगारी, र आर्थिक सहायता दिएर आकर्षित गरिरहेको प्रतिवेदनमा उल्लेख छ। यस नीतिलाई हान उपनिवेशवाद को संज्ञा दिइएको छ।

अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले मानव जीवनको पवित्रता र मानव मर्यादाको पूर्ण अवमूल्यनको अन्त्य गर्न माग गरेका छन्। साथै, उत्तर अमेरिका, युरोप, र अष्ट्रेलियाका सांसदहरूको अन्तरसंसदीय गठबन्धनले संयुक्त राष्ट्रसंघमार्फत मानवता विरुद्धका अपराध वा नरसंहार भएको छ कि छैन भन्नेबारे छानबिनको माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस